२०७७/ ३/ २८/ आइतवार

 

अनलाइन कक्षा – रोल नं. १२ : बत्ती गयो सर !

प्रकाशित मिति: २०७७/ १/ २०/ शनिवार

unn.prixa.net
लकडाउनको महिना दिनसम्म सबैलाई ढुक्कै भयो । न हिँड्नुपर्यो, न काम गर्नुपर्यो, न पढ्नु पर्यो, न पढाउनै पर्यो । शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई आनन्द ।
तर कति दिन यसरी बस्नु ? मोबाइलमा भएका गेम खेलेर, सिनेमा हेरेर, टिकटक बनाएर, च्याटमा भुलेर, सुतेर, उँघेर, उट्पट्याङ गरेर सबैथोक सिध्याइयो । अब त यसो पढेजस्तो, पढाएजस्तो पनि गर्नुपर्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षाको ताउरमाउर ।
बल्लतल्ल मोबाइलमा जुम चलाउन जानेका शिक्षकले अभिभावकलाई फोन गरे: ‘ल अब मोबाइलबाटै पढाई हुन्छ, जुम डाउनलोड गर्नुपर्यो ।’ 
घरमा धुम्धुम्ती बस्नुपरेको बेला फेरि कहाँबाट आयो यो जुम ? शिक्षकले भनेको मान्नैपर्ने होला । नत्र छोराछोरीको पढाई बिग्रिएला भन्ने डर । त्यसमाथि छोराछोरी पनि कराउँदैछन्: ‘अरुले अनलाइन कक्षा लिन थालिसके रे, खै हाम्रो स्कुल मात्रै के हो के ?’
‘ल ल तिमीहरुका स्कुलले पनि अनलाइनमा पढाउने रे, खै जुम हो कि धुम के हो डाउनलोड गर्नुपर्छ रे ।’ अनि बाआमा र छोराछोरी मोबाइलमा जुम खोज्न थाले । आमाको मोबाइलमा मिलेन । गेम खेल्न र च्याट मात्रै हुने छोराछोरीको मोबाइलमा पनि जुम जमेन ।  
बल्लतल्ल बाबुको मोबाइलमा मिल्यो । जुम त डाउनलोड भयो, तर कुरा कसरी गर्ने ? सात दिन लगाएर जुम चलाउन सिकेका शिक्षकले युजर नेम र पासवर्ड राखेर कुरा गर्ने तरिका सिकाए । शिक्षकलाई सिक्न सात दिन लाग्यो, विद्यार्थी र अभिभावकलाई अर्को सात दिन लाग्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षा ।
‘ल अब आजदेखि अनलाइन कक्षा सुरु भयो । सबै विद्यार्थीहरु मोबाइलमा बस’ सरमिसले उताबाट भने । अस्तिताकासम्म मोबाइल नखेलाउ भन्ने सरमिस र बाउआमा नै अब मोबाइल चलाउ भन्न थाले । रमाइलै भयो । सरमिसले १० बजे पढाई हुने भनेका थिए ।
मोबाइलबाट सबैलाई खोज्न अनि यसको, उसको, त्यसको सबैको मोबाइलमा अनुहार देखिन र आवाज जोडिने बेलासम्म पर्खंदा १२ बज्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षा ।
उताबाट सर कराए: रोल नं. १ 
कोही बोल्दैनन् । यसकोमा बच्चा रोएको, उसकोमा बाउआमा झगडा गरेको, त्यसकोमा कुकुर कराएको आवाज मात्रै सुनिन्छ । सरको उत्तर कसैले दिंदैन ।
‘हैन को हो रोल नं. १, किन नबोलेको ?’ श्रीमतीलाई चुप लाग्न भन्दै उताबाट सर कराए ।
‘सर भर्ना नै भएको छैन, कसको रोल नं. कति हो, को बोल्ने ?’ यताबाट विद्यार्थी गलल्ल हाँसे ।
‘ए हो त, ल त्यसो भए पुरानै कक्षाको रोल नं. अनुसार भन्ने है त’ शिक्षकले फेरि भट्याए । रोल नं. १: सुनिएन सर । 
रोल नं. २ : झ्यारझ्यार आयो सर । 
रोल नं. ३ : भन्नै आएन सर । 
……….। 
रोल नं. १२ : बत्ती गयो सर ।……….
हाजिर नै सक्न नभ्याउँदै नेट र बिजुली गयल भयो । तर पनि विद्यार्थीलाई रमाइलो भयो । दुई महिनादेखि देख्न नपाएका साथी, केटासाथी, केटीसाथी देख्न पाइयो । सर र मिसलाई पनि गजब नै भयो । विद्यार्थीको हाजिर गर्न नसके पनि अनलाइनमा पढाइयो भनेर गजक्क पर्न पाइयो । 
साना केटाकेटीका बाआमालाई चाहिँ झण्झट मात्रै । उताबाट सरमिसले नै जुम चलाउन जान्दैनन्, यताबाट आफूले झन् कसरी जान्नु । बल्लबल्ल जोडियो, अलिअलि सरमिसको अनुहार देखियो । सरमिसको त बल्लतल्ल अनुहार देखियो । तर सबै केटाकेटीको देखिएन । छोरो रुन्छ : ममी मेरो फोटो खै ? छोरी भन्छे : नाईं साथीको पनि फोटो हेर्ने । अनि सरमिस देख्नेबित्तिकै विद्यार्थीले गुड मर्निङ भन्न परिहाल्यो ।
गुड मर्निङ भन्न नपाउँदै सरको अनुहार हरायो, मिसको बोली बिलायो । यता आफ्नो मोबाइल ह्याङ भयो, उता अर्कोको लाइन गयो । बरु यो भन्दा फेसबुकको च्याट र टिकटक नै ठिक । केटाकेटीलाई पनि गेम नै ठिक । बेकारको झण्झट मात्रै । 
यो त शहरबजार, त्यसमा पनि सबैको हातमा मोबाइल भएका र नेट चलाउन जान्नेहरुको कुरा । गाउँमा त के को अनलाइन पढाई ? मोबाइल छ, टावर छैन । फेसबुक छ, इन्टरनेट छैन । तर डाँडा छ, रुख छ । केही नभए घरको आँगन र भकारोको थुप्रो छ । सरहरु रुखको हाँगा र डाँडामा चढून् । मिसहरु भकारोको थुप्रोमा बसून् । अनि विद्यार्थीले आँगनको डिलबाट हेरुन् । 
रोल नं. १ : हजुर मिस । 
रोल नं. २ : भकारोको डिल त भत्किन लाग्यो मिस । 
चुप लाग, रोल नं. ३ : मकै बुढ्यो मिस, आमाले गोड्न आउनु भन्नुभएको छ । 
गाउँको अनलाइन पढाई पनि बिथोलियो ।
लकडाउनभन्दा पहिले मान्छेले फेसबुक च्याटमा मात्रै भुल्न जानेका थिए । लकडाउनपछि जुममा झुम्न खप्पिस भए । जुममै सल्लाह, जुममै भाषण, जुममै बैठक, हुँदाहुँदै अब जुममै कक्षा । बल्लतल्ल मन्त्रीले जुममा बैठक गर्न जाने, त्यसपछि शिक्षकले सिके, अनि पालो आयो विद्यार्थीको । तर पारा चाहिँ यस्तो ।
जेठमा पनि स्कुल खुल्ने छाँट नदेखेपछि सबैभन्दा धेरै निजी स्कुलका सञ्चालक आत्तिए । स्कुल नै नखुलेपछि भर्ना कसरी गर्ने ? भर्ना नै नभएपछि पैसा कहाँबाट कमाउने ? त्यसपछि उनीहरुले जुक्ति निकाले, स्कुल नखुलेर के भयो त,  जुमबाटै पढाएझैं गर्ने, अनि पछि अभिभावकबाट लौ पढाएको पैसा लेउ भन्ने ।
तर विद्यार्थीको हाजिर पनि गर्न नसकिने अनलाइन कक्षाले सरमिसका खातामा पैसाको हाजिर लाग्ला या नलाग्ला ? त्यो त कोरोना सकिएपछि कमरेड वामदेव गौतम प्रधानमन्त्री बन्नुभयो भने मात्रै थाहा पाइएला !

यसमा तपाइको मत

Facebook Comment