२०७७/ ३/ २८/ आइतवार

 

कोरोना एचआईभी जस्तै कहिले नहराउन सक्छ

प्रकाशित मिति: २०७७/ २/ १/ बिहिवार

कोरोना भाइरस संसारबाट कहिले पनि नहराउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

सङ्गठनका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भनेका छन् । उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने बताए ।

संसारभरि अहिलेसम्म कोरोना भाइरसका कारण तीन लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ भने ४३ लाखभन्दा बढी संक्रमित भएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले महामारीका कारण मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको बताएको छ ।

उसले सरकारहरूलाई मानसिक स्वास्थ्य एवम् मनोसामाजिक सहयोगलाई समेत महामारीसँग जुझ्ने योजनामा सामेल गर्न आग्रह गरेको छ ।

डा. राएनले बुधवार इन्टरनेट मार्फत गरीएको प्रेस सम्मेलनमा बोल्दै भने, ‘यो कुरा थाहा हुनु आवश्यक छ । कोरोनाभाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ।”एचआईभी हराएको छैन तर हामीले त्यससँग रहन सिकेका छौँ ।’

उनले भने,’कसैले यो भाइरस हराउने समय अनुमान गर्न सक्ने’ अवस्था नरहेको बताए । अहिले संसारमा १०० भन्दा बढी सम्भावित खोपहरू विकास भइरहेका छन् तर डा. राएनले खोप भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रयत्न गरे यो भाइरसलाई नियन्त्रण गर्न सकिने बताएका छन् ।

उनले भने, ‘यो कुरो हाम्रो हातमा छ र यो सबैको सरोकारको कुरो हो । हामी सबैले यो महामारी रोक्न सहयोग गर्नुपर्छ ।’

यसमा तपाइको मत

Facebook Comment