२०७७/ ३/ २८/ आइतवार

 

लकडाउन खुल्ने ठेगान छैन, घरलाई नै विद्यालय बनाऔँ

प्रकाशित मिति: २०७७/ २/ ४/ आइतवार

काठमाण्डौ । लामो समयदेखि शैक्षिक संस्था बन्द छन् । अर्कोतिर कोरोना भाइरस सङ्क्रमणको दर बढिरहेको छ । लकडाउन कहिलेसम्म लम्बिन्छ भन्न सक्ने अवस्था छैन । त्यसैले बालबालिकाका लागि यो समय ‘बोरिङ’ बन्दै गएको छ भने अभिभावकलाई आफ्ना बालबालिकालाई भुल्याउन हम्मेहम्मे परेको छ ।

सहरका केही स्कुलले अनलाइन कक्षा सुरु गरेको छ । प्राथमिक तहदेखि माथिका विद्यार्थीको हकमा यसले केही सहजता ल्याएको देखिएपनि प्रिप्राइमरी अर्थात् पूर्व प्राथमिक तहका विद्यार्थीका लागि भने त्यति प्रभावकारी हुन सकेको छैन ।

मङ्गलबार सरकारले पूर्व प्राथमिक तहका बालबालिकाका लागि घरमै बसेर पढाउन सकिने विद्युतीय पुस्तक ल्याएको छ । यस्तो विद्युतीय किताब प्रभावकारी होला/नहोला भन्न सकिने अवस्था छैन ।

सरकारले उपयुक्त तरिकाले पूर्व प्राथमिक तहका विद्यार्थीका लागि के गर्ने भन्ने छुट्टै रणनीति तय गर्न सकेको छैन । लकडाउनमा अहिले ७० लाख विद्यार्थी थुनिएका छन् । त्यसमध्ये पूर्व प्राथमिक तहका बालबालिकाको शैक्षिक भविष्य सबभन्दा बढी अन्योलपूर्ण छ ।

नेपालमा कहिले समय कोरोना भाइरसको सङ्क्रमण रहन्छ भन्न सकिने अवस्था छैन । जसले सबैमा कोरोनाको डर बढ्दै गएको छ । अझ साना बालबालिकाको लागि यो अवस्था सामान्य होइन । उनीहरुको कलिलो मानसपटलमा यसको प्रभाव भयावह हुने देखिन्छ ।

अहिले बालबालिकाको मनमा मानिस नै कोरोना हो कि भन्ने भ्रम छ । यसो त वस्यक मानिसमा पनि मानिसदेखि डर लाग्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकालाई कोरोनाको डरसँगै पढाइको डर थप्न उचित नहुने शिक्षाविद्ले बताएका छन् ।

जीवन उपयोगी शिक्षा
अब कति समय स्कुल खुल्दैनन् र खुलेपनि विद्यार्थीहरुलाई स्कुल र कलेज जानका लागि मानसिक रुपमा तयार हुन समय लाग्न सक्छ । त्यसैले विषेशगरी साना बालबालिका अर्थात् पूर्व प्राथमिक तहका बालबालिकालाई सिर्जनात्मक र रचनात्मक काममा लगाउनुपर्ने विज्ञहरुको भनाइ छ ।

एकातिर भर्खरै विद्यालय जान थालेका बालबालिकाहरुले सिकेका कुरा बिर्सने हुन् कि भन्ने अभिभावकको चिन्ता छ । अर्कोतिर कोरोनाले फैलाएको मनोवैज्ञानिक त्रासका कारण बाल मस्तिष्कमा कस्तो असर पर्ला भन्ने चिन्ता छ ।

केही बालमनोविद् तथा शिक्षाविद्हरु भने यो समयमा बालबालिकालाई व्यवहारिक र दैनिक जीवनमा उपयोगी हुने कुराहरु सिकाउनुपर्ने बताउँछन् । आफ्नै घरभित्र भएका र अभिभावकहरुलाई थाहा भएका ज्ञानका कुरालाई व्यवस्थित रुपले पस्किन सके बालबालिकामा व्यवहारिक ज्ञानको वास्तविक बिजारोपण गर्न सकिन्छ ।

सिकाउने सिर्जनात्मक तरिका
शिक्षाविद् विद्यानाथ कोइराला पूर्व प्राथमिक तहका बालबालिकालाई सिर्जनात्मक तरिकाले घरमै सिकाउन सकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ठूला कक्षाका विद्यार्थीलाई मात्र होइन, साना बालबालिकालाई पनि सिर्जनात्मक तरिकाले घरमै सिकाउन सकिन्छ ।’

उदाहरणको लागि साना बालबालिकालाई युट्युबमा जानकारीमूलक भिडियो देखाएर त्यसको बारेमा लेख्न लगाउन सकिन्छ । यसो गर्दा बालबालिकामा लेख्ने, पढ्ने र अनुगमन गर्ने बानीको विकास हुन्छ ।

यस्तै बालबालिकालाई कुनै समाचार सुनाएर वा पढ्न लगाएर त्यसको बारेमा केही लेख्न लगाउन सकिन्छ । भिडियो गेमहरु खेल्न र खेतबारीको काममा पनि लगाउन सकिन्छ ।

खेतमा कसरी काम गर्ने, बिरुवा कसरी रोप्ने, फूल कसरी गोड्ने, बिरुवा कसरी उम्रन्छन् भनेर सिकाउन सकिन्छ । झोला बोकेर स्कुल गए मात्र बालबालिकाले पढ्न सक्ने कुरामा सत्यता नभएको उहाँको भनाइ छ ।

व्यवहारिक ज्ञान जरुरी
जसले एउटा कोठामा गुजारा गरिरहेका छन्, जोसँग इन्टरनेटको पहुँच छैन त्यस्ता अभिभावकका लागि आफ्ना बालबालिकालाई भुल्याउन र रचनात्मक काममा लगाउन अनेकौँ विकल्प हुन सक्ने कोइरालाले भन्नुभयो । जस्तै, कोठामा कतिवटा थाल र कचौरा छन् भनेर गन्न लगाउन सकिन्छ ।

यसबाट बालबालिकामा गणित विषयको ज्ञान बढ्ने उहाँको भनाइ छ । भाँडाकुँडा कसरी मिलाउने, कुन भाँडा काँचको हो ? कुन भाँडा स्टिलको हो ? कुन भाँडा सिसाको हो ? अर्थात् काँच, सिसा र स्टिल कसरी बन्छ भन्ने ज्ञान दिन सकिने शिक्षाविद् कोइराला बताउनुहुन्छ ।

यस्तै बालबालिकालाई हजुरबुवा र हजुरआमाबाट दन्तकथाहरु पनि सुनाउन सकिन्छ । हाम्रा बुवा र हजुरबाले काठ र ढुङ्गामा माटो राखेर लेखपढ गरेका कुराहरु र जीवन सङ्घर्षका कथाहरु पनि बालबालिकाका लागि प्रेरणाको स्रोत बन्न सक्छन् । योसँगै घरनजिकै बालबालिकालाई खुला ठाउँमा लैजाने र त्यहाँ देखिएका किरा फट्याङ्ग्राको बारेमा जानकारी दिन सकिन्छ ।

जस्तै, पुतली कस्तो रङको छ ? कतिवटा खुट्टा छन् ? भन्ने विषयमा व्याख्या गराउन र आफूसँग भएको ज्ञान बालबालिकामा बाँड्न सकिन्छ । यसबाट बालबालिकामा सिकाइ क्षमताको विकास हुन्छ ।

खेलकुद स्वस्थकर
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफले बालबालिकालाई विभिन्न किसिमका खेल खेलाउन सकिने जनाएको छ । त्यसको लागि दूरी भने कायम गर्नुपर्ने युनिसेफको सुझाव छ । युनिसेफले भेषभुषा र पहिरनबारे जानकारी दिने खेल प्रभावकारी हुने सुझाव दिएको छ ।

यो खेल खेल्नका लागि फरक किसिमका कपडाहरू लिने र आफ्ना नानीबाबुलाई ती कपडाहरूबाट विभिन्न भेषभुषा र पहिरन बनाउन लगाउने गर्नुपर्छ । त्यसपछि उनीहरूले छानेको पहिरनको आधारमा सँगै खेल्न सकिन्छ ।

यस्तै, ‘म तिमीलाई समात्छु’ भन्ने खेल पनि लकडाउनमा बालबालिकालाई खेलाउन उपयुक्त हुन्छ । त्यसको लागि घरभित्र वा वरिपरि खाली ठाउँमा बालबालिकालाई दौडन लगाउने र आफूले उनीहरूलाई समात्ने प्रयास गर्नुपर्छ ।

यो खेलले बालबालिकालाई शारीरिक रुपमा स्वस्थ राख्न मद्दत गर्ने छ । यस्तै आवाज पत्ता लगाउने खेल पनि साना बालबालिकालाई खेलाउन सकिने युनिसेफले सुझाव दिएको छ । आफ्नो वेभसाइटमार्फत यो खेलबारे उसले जानकारी दिएको छ ।

यो खेलमा फरक फरक जनावरको आवाज नक्कल गरेर अभिभावकले बालबालिकालाई सुनाउन सक्ने र उनीहरुलाई पनि नक्कल गर्न लगाउन सकिन्छ ।

यस्तै बाल चुनौतीअन्तर्गत बालबालिकालाई आफ्ना शरीरका अङ्ग छुन र उठाउन लगाउन सकिन्छ । जस्तै हात, औँला र पाखुरा उठाउन र छुन लगाउन सकिन्छ । यसबाट बालबालिकाले आफ्नो शरीरका अङ्गको नाम थाहा पाउने र शारीरिक क्षमताको पहिचान पनि गर्न सक्ने हुन्छन् ।

प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने वर्तमान समयमा किताबका हरफहरु घोकेर मात्रै दक्ष र ज्ञानी भइन्छ भन्ने कुराबाट माथि उठ्नु पर्दछ । साना बालबालिकालाई दैनिक क्रियाकलापबाटै जीवन उपयोगी ज्ञान दिन सके यो उनीहरुको भविष्यको निम्ति उपयोगी हुने छ ।

यसमा तपाइको मत

Facebook Comment