२०७७/ ३/ २७/ शनिवार

 

यी हुन् सरकारको लकडाउन खोल्ने नीति ६ चरणको योजना

प्रकाशित मिति: २०७७/ २/ २३/ शुक्रवार

काठमाडौं । लकडाउन को नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणको योजनाको प्रस्ताव तयार पारेको छ । लकडाउन खुकुलो बनाउनुपर्ने चर्को दबाब सरकारमाथि परिरहेका बेला सीसीएमसीले तयार पारेको उक्त प्रस्ताव कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिमा पेश भइसकेको छ। यसलाई थप छलफल गरी समितिले अनुमोदनका लागि मन्त्रीपरिषदमा पेश गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले बताएको छ ।

सीसीएमसीले तयार पारेको ‘नेपालमा बन्दाबन्दीलाई खुकुलो गर्ने ‘प्रस्तावित स्वरुप’ मा लकडाउन पूर्णरुपमा खुल्ला गर्ने निर्णय १० औँ हप्तापछि समिक्षापछि गरिनेछ । प्रस्तावित स्वरुपअनुसार प्रत्येक दुई सातामा लकडाउन खुकुलो बनाइने छ।त्यसमा जर्जियाको ६ चरणको लकडाउन खुकुलो बनाउने मोडलको ढाँचा पनि प्रस्तुत गरिएको छ ।

पहिलो चरण प्रस्तावित स्वरुपमा हालको बन्दाबन्दी सकिएपछि अर्थात जेठ ३२ गतेपछि पहिलो चरणमा दुई हप्ता सम्पूर्ण सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी कायम गरी हालकै अवस्थामा दूध, अन्नबाली, तरकारी/फलफूल, बस्तुभाउलगायत सम्पूर्ण कृषिजन्य उत्पादन कार्य आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ । यस्तै दैनिक उपभोग्य सामग्रीका लागि डिपार्टमेन्टल स्टोर/मार्ट, किराना पसल, खाद्य स्टोर, पानी/ग्यास डिपो पनि हालकै अवस्था आंशिक खोल्ने दिने प्रस्ताव छ ।

अत्यावश्यक सवारी साधन चलिनै रहने छन् । यो चरणमा विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ । यो चरणमा होटल, रेस्टुरेन्ट र बारलाई होम डेलिभरीको अनुमति दिइनेछ । यस्तै सरकारी/निजी फाईनान्स आंशिक खोल्ने, ई–कर्मस पूर्णरुपमा खोल्ने, मर्निङ वाक आंशिक गर्न दिनइने भएको छ ।

दोस्रो चरण प्रस्तावित स्वरुपमा पहिलो चरणको मुल्याङन पछिको दुई साता सुरक्षात्मक उपाय अपनाएर निजी सवारी साधन ठूला शहरहरुमा जोर/बिजोर प्रणालीमा जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ । यस्तै सार्वजनिक सवारी साधन ५० प्रतिशत यात्रु मात्रै बोकेर सञ्चालन गर्न पाइनेछ । यसगरी सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर ४० प्रतिशत यात्रुसहित आन्तरिक हवाई उडान भर्न पाइने छ । यस्तै यो चरणमा घरेलु तथा साना उद्योग र अन्य ठूला उद्योग तथा कलकारखाना आंशिक खोल्न पाइने छ ।

तेस्रो चरण दोस्रो चरणको मूल्याङन गरी दुई साता कृषि, दैनिक उपभोग्य बस्तु सामग्रीका लागि सबै पसलहरु पूर्णरुपमा खोल्न दिने प्रस्ताव गरिएको छ । यो चरणमा दोस्रो चरणमा अपनाईको नियम अनुसार निजी सवारी साधन चलाउन दिइने छ । पुरानै नियमअनुसार घरेलु तथा साना उद्योग पनि पूर्णरुपमा खोल्न दिइने छ । विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु पनि पूर्णरुपमा खोलिने योजना छ । अन्य ठूला उद्योग तथा कलकारखाना भने आंशिक रुपमा खोलिने छ । यो समयमा विद्यालय, कलेज र विश्वविद्यालय पठनपाठन र भर्ना प्रक्रिया सुरु गरिने छ ।

यो चरणमा अटो सर्भिसिङ/अटो, पार्टर्स/ईलेक्ट्र/आइटी, कम्युटर/मोबाइल मर्मत संभाारको सेवा सञ्चालनका लागि अनुमति दिइने छ । चौथो चरण तेस्रो चरणको बन्दाबन्दी मुल्याङक गरी दुई हप्ता थप गर्ने योजना बनाइएको छ । यो चरणमा संक्रमित जिल्ला र संक्रमणरहित जिल्ला छुट्याइने छ । संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी बन्दाबन्दी हटाइने छ । निजी, सार्वजनिक सवारी र आन्तरिक उडानलाई तेस्रो चरणकै नियम लागू हुनेछ ।

यो चरणमा सम्भव भएसम्म अनलाइनमार्फत पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्ने गरी विद्यालय, कलेज र विश्वविद्यालय सञ्चालन गर्ने र भर्ना प्रक्रिया सुरु हुनेछ । सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर, सामाजिक दुरी/मास्कको प्रयोगसहित सिनेमा/मल/पर्यटकीय क्षेत्र, होटल/रेस्टुरेन्ट/बार र विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु पूर्णरुपमा सञ्चालनमा आउने छन् ।

यस्तै जिम, मर्निङ वाक, अन्य सम्पूर्ण खेलकुद, फेन्सी स्टोर, हजाम र ब्युटी पार्लर पूर्णरुपमा खोलिने छ । पाँचौ चरण चौथो चरणको बन्दाबन्दी मूल्याङन गरी २ हप्तामा सामाजिक दुरी र सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर अन्तर्राष्ट्रिय उडान भर्न अनुमति दिइने छ । यो समयमा धार्मिक स्थल मन्दिर/गुम्बा/चर्च/मस्जित पूर्णरुपमा खोल्न दिइनेछ ।

यसै चरणमा ‘लकडाउन टु लुजडाउन’ को रणनीति कार्यान्वयनबारे समग्र समिक्षा हुनेछ । छैठो तथा अन्तिम चरण यस चरणमा विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले विश्वभर संक्रमण शून्यको घोषणा गरेपछि सेवाहरु सामान्य अवस्था सरह नै पूर्णरुपमा प्रवाह गरिने प्रस्तावमा उल्लेख गरिएको छ । लकडाउन खुल्ला गर्दा भयावह स्थिति पनि आउन सक्ने आँकलन प्रस्तावित स्वरुपमा बन्दाबन्दी खुकुलो गर्दा आइपर्न सक्ने चुनौतिहरुबारे पनि उल्लेख गरिएको छ ।

खासगरी सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने, भारतीय सीमामा नेपाली नागकिहरुको चाप बढ्नुको साथै गैरनेपालीहरुको समेत आगमन हुन सक्ने, स्वास्थ्य क्षेत्रमा कामको चाप बढ्न जाने र स्वास्थ्य सामग्रीलगायत जनशक्तिमा कमी हुन जाने चुनौतीको रुपमा आकंलन गरिएको छ । यस्तै वैदेशिक रोजगारीमा गएकाहरु स्वदेश फर्कनेहरुलाई तत्काल थप क्वारेन्टिनको व्यवस्था र रोजगारीलगायत खाद्य सामग्री आपूर्तिमा असर पर्ने सीसीएमसीको अनुमान छ ।

यसमा तपाइको मत

Facebook Comment